सार्वजनिक प्रशासनमा राजनीतिक तटस्थता र प्रतिबद्धताको अवधारणा

प्रश्नः सार्वजनिक प्रशासनमा राजनीतिक तटस्थता र प्रतिबद्धताको अवधारणा प्रष्ट्याउँदै यस अवधारणा अवलम्बन गर्दा देखिएका विकृतिहरूको चर्चा गर्नुहोस् । 

विषय प्रवेश

निजामती सेवा निष्पक्ष रूपमा छनोट, प्रशासनिक रूपमा सक्षम, राजनीतिक रूपमा तटस्थ र समुदायको सेवामा समर्पित सेवा हो । राजनीतिक प्रणालीको उपप्रणाली हुनुको नाताले दलगत राजनीति र राजनीतिज्ञको निहित स्वार्थको कारक बनेर होइन कि नतिजाप्रति प्रतिबद्ध भएर जनउत्तरदायित्व पूरा गर्नु निजामती सेवाको दायित्व हो । सरकारको नीतिप्रति प्रतिबद्ध तथा राजनीतिक रूपमा तटस्थ र निष्पक्ष भएर कार्यसम्पादन गर्नु निजामती सेवाको मूल धर्म हो ।

तटस्थता

निजामती सेवा सरकारको नीति निर्णयलाई आमजनताले अनुभूति गर्ने तवरबाट कार्यान्वयन गर्ने सरकारको भरपर्दो माध्यम हो । बहुदलीय व्यवस्थामा कुनै बहुमत प्राप्त दलको तर्फबाट सरकारको निर्माण हुने भए पनि सरकार सबैको साझा हुन्छ, कुनै राजनीतिक दल विशेषको मात्र हित हुने गरी कार्य गर्न सरकारले मिल्दैन । यसकारणले सरकारले लिएको नीतिलाई कार्यान्वयन गर्ने निजामती सेवा निष्पक्ष र तटस्थ हुन आवश्यक छ । कसैको पक्ष नलिनु, कसैको मान्छे नबन्नु, कसैको पक्षमा लागेको नदेखिनु नदेखाउनु तटस्थता हो । तटस्थता निजामती सेवाको स्थायित्व  र दक्षतासँग जोडिएको विषय हो । कर्मचारीतन्त्रीय सक्षमता भन्नु नै तटस्थ सक्षमता हो भन्ने गरिएको छ । तटस्थताकै आधारमा यस सेवाले जनताको मन जित्न सक्छ । निजामती सेवाको तटस्थतालाई निम्नानुसार लिन सकिन्छ । 

  • कुनै पनि दलगत क्रियाकलापमा संलग्न नहुनु,
  • कसैको पक्ष नलिनु,
  • सरकार र आफ्नो कामप्रति बफादार रहनु,
  • निर्णयको भूमिकामा निर्वयक्तिता कायम राख्नु,
  • व्यावसायिक मूल्य र आचरण पालना गर्नु,
  • नियम कानुनको पालनामा कठोरता अपनाउनु ।

योग्यता प्रणालीबाट स्थापित निजामती सेवा राजनीतिक त्रास र आसबाट उन्मुक्त हुनुपर्छ, कानुनको घेरामा रहनुपर्छ भन्ने मान्यता नै तटस्थता हो । निजामती प्रशासन राजनीतिक रूपमा तटस्थ र कामप्रति प्रतिबद्ध हुन आवश्यक हुन्छ ।

प्रतिबद्धता

प्रतिबद्धता भन्नाले कुनै कामप्रति अठोट वा समर्पण भन्ने बुझिन्छ । प्रशासनिक प्रतिबद्धताअन्तर्गत सार्वजनिक प्रशासनले गर्ने आफ्नो कामप्रतिको अठोट, बफादारिता र इमान्दारिता सम्झनुपर्छ । यस्तो प्रतिबद्धताले प्रशासनिक तटस्थता र निष्पक्षतासँग भने कुनै सम्झौता गरेको हुनु हुँदैन । सार्वजनिक प्रशासनको जन्म नै राजनीतिक प्रणालीबाट हुने र सोहीबाट नै यसले आफ्नो वैधता प्राप्त गर्दछ । राजनीतिज्ञ वा सत्ताधारी नेतृत्वबाट स्वीकृत नीति र कार्यक्रम कार्यान्वयन गर्ने दायित्व र जिम्मेवारी प्रशासनमा रहन्छ । त्यसैले, सार्वजनिक प्रशासन वा निजामती सेवा सरकारको नीतिप्रति प्रतिबद्ध रहनुपर्छ भनिन्छ । 

राजनीतिले प्रशासनलाई डोर्‍याउने हुँदा प्रशासनिक प्रतिबद्धता राजनीतिउपर रहन्छ, तर राजनीतिक दल र त्यसको विचारधाराप्रतिको प्रतिबद्धता प्रशासनिक प्रतिबद्धता होइन । बरु सरकारको कार्यक्रम र नीतिप्रतिको प्रतिबद्धताको अतिरिक्त आफ्नो पद र पदले गर्नुपर्ने कामप्रतिको प्रतिबद्धता, संगठन, सेवाग्राहीप्रतिको प्रतिबद्धता, नियम कानुनको पालना र कार्यान्वयनप्रतिको प्रतिबद्धता निजामती सेवाको लागि अति महŒवपूर्ण रहन्छ । देहायको कार्यहरू मार्फत संविधान, कानुन र जनअधिकारप्रतिको प्रतिबद्धता सार्वजनिक प्रशासनले पूरा गर्न सक्दछ ।

  • राजनीतिक मूल्य र मान्यतालाई आत्मसात र अनुभूत गर्न,
  • GOD (Government of the Day) प्रतिको व्यावसायिक निष्ठा सिद्ध गर्ने,
  • सरकारको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न,
  • राजनीतिज्ञलाई निर्भिक रूपमा व्यवसायिक सल्लाह दिन,
  • प्रशासनलाई यान्त्रिक हुनबाट जोगाई सामाजिक र सांस्कृतिक पक्षप्रतिको संवेदनशीलता बढाउन,
  • प्रशासनको राजनीतिक वैधता सिद्ध गर्न ।

विकृतिहरू

प्रशासनको राजनीतिक तटस्थता र प्रतिबद्धता एक वैचारिक बहसको विषय रहिआएको छ । राजनीति र प्रशासनको सीमारेखा र अन्तरसम्बन्धलाई परिभाषित गर्ने यस अवधारणाले सार्वजनिक प्रशासनको आचरण र व्यवहारलाई कार्यनिष्ठ बनाउने आधार प्रदान गर्दछ । तटस्थताको नाममा प्रशासनमा देहायका विकृतिहरू आउने गरेको पाइन्छ । 

  • जिम्मेवारी र जवाफदेहिता वहनमा उदासिनता
  • आचरण र व्यवसायिकतामा ह्रास
  • सामाजिक–सांस्कृतिक मूल्य मान्यताप्रतिको बेवास्ता 
  • निर्वैयक्तिक्ताको नाममा सेवाग्राही प्रति लापरवाही
  • नतिजा हासिल गर्नुमा भन्दा जागिर खानुमा जोड
  • त्यसैगरी, प्रतिबद्धताको अवधारणा अवलम्बन गर्ने क्रममा देहायका विकृतिहरू आउने गरेको पाइन्छ । 
  • राजनीतिक दलप्रतिको आस्था र प्रतिबद्धतातर्फ उन्मुख गराउने,
  • प्रशासन र राजनीतिज्ञको कार्यक्षेत्र विभाजनलाई अलमलमा पार्ने,
  • राजनीति र प्रशासन दुवैले अनावश्यक फाइदा लिन उद्दत रहने,
  • दलगत प्रतिबद्धताको विकास हुन गई पेसागत मूल्य घट्न जाने,
  • प्रशासनको आड लागेर राजनीति र राजनीतिको आडमा संरक्षणको विकास हुन सक्ने,
  • नीति निर्माणमा कसको के भूमिका के कस्तो हुने स्पष्ट नहुन सक्ने ।

नेपालको सार्वजनिक प्रशासनमा यी विकृतिहरू कतिपय अवस्थामा चरम रूपमा बढेको देखिन्छ । दलगत आस्था र विचारबाट निर्देशित हुने, तर पेसागत दक्षता र क्षमताको अभ्यास गरी पूर्ण व्यवसायिक निजामती सेवामा रूपान्तरण हुनेतर्फको उदासिनता चिन्ताको विषय हो । तटस्थतामार्फत अधिकार र स्रोतको दुरूपयोग रोक्ने र प्रतिबद्धताको माध्यमबाट राजकीय र शासकीय पक्षमा सक्रिय संलग्नता, विश्वास, समर्पणभाव र पूर्ण सहयोग सुनिश्चित गरी नेपालको प्रशासनमा तटस्थता र प्रतिबद्धताको उपयुक्त सन्तुलन मिलाउनु अति आवश्यक देखिन्छ ।

Loksewa Diary

Loksewa Diary is an eLearning Platform for Loksewa Exam Preparation. Enroll www.loksewadiary.com.np for Exam Format Premium Notes at a nominal cost.

Post a Comment

Previous Post Next Post